सप्तरीमा दुई वर्षीया बालिका मृत फेला, घटनाबारे अनुसन्धान जारी

988 Shares

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित ट्राफिक बजारमा दुई वर्षीया बालिका आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय मो. इरफानकी छोरी खुसी खातुन घरबाट हराएको सूचना पाएपछि प्रहरीले आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजी गरेको थियो । खोजीका क्रममा बालिका घरपछाडिको क्षेत्रमा मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।

स्थानीयले बालिकाको मृत्युको घटनामा सौतेनी आमाको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर, प्रहरीले भने हालसम्म कसैको संलग्नता पुष्टि नभएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रनाउ घिमिरेका अनुसार शव परीक्षणको प्रतिवेदन र अनुसन्धानबाट मात्रै बालिकाको मृत्युको वास्तविक कारण तथा घटनाको विस्तृत विवरण खुल्नेछ । मृतक बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सम्बन्धित समाचार