पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। त्यसपछि मोटरसाइकल पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा समेत ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रूपा बिक गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक पोखरा–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बिक पनि गम्भीर घाइते भएका छन्। उनको टाउको र दायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बस चालक अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।