जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी कमिसन मोहमा लिप्त भएको आरोप लागेकोे छ । सभापति चौधरीले २० प्रतिशत रकम कमिसन पाउने पक्का भएपछि संचित स्थानीय बिकास कोषको रकम स्थानिय निकायलाई दिने गरेको आरोप लागेको हो ।
रु १२ करोड मध्ये रु ४ करोड सर्लाहीको बागमती नगरपालिकालाई भौतिक संरचना निर्माण अन्तर्गत रकम निकासा गरेको सभापति चौधरीमाथी आरोप लागेको छ । जिसस सभापति चौधरीले प्रत्यक्ष सरोकारवाला व्यक्ति, क्षेत्रका संघीय तथा प्रदेश सांसदहरुलाई समेत कुनै जानकारी नदिई कमिसनको लोभमा आफुखुसी निकासा गरेको आरोप लागेकोे हो । रु ४ करोड निकासा गरेबापत सभापति चौधरीले त्यसबाट कमिसन स्वारुप रु ८० लाख कमिसन पाउने भएका स्रोतले बताएको छ ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको टिकटमा विजयी भएका सभापति चौधरीले कमिसन पाउनकै लागि तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका नगर प्रमुख भरतकुमार थापा रहेको बागमती नगरपालिकालाई रु ४ करोड निकासा गरेको आरोप लागेको हो । मधेस र मधेसीको अधिकार र पहिचान प्राप्तिको मुद्दामा आधारित रहेर निर्वाचीत भएका सभापति चौधरीले देखाएको कमिसन मोहप्रति प्रत्यक्ष सरोकारवाला व्यक्ति, क्षेत्रका संघीय तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधिलगायत स्थानीय जनताहरुले आक्रोश व्यक्त गर्न गरेका छन् ।
यता सभापति चौधरीले आफुलाई जिल्लाका केही मिडियाकर्मीहरुले अर्नगल आरोप लगाएको बताउनु भएको छ । उहाँले आफुले कमिसन लिए नलिएको प्रमाणित गर्न चुनौती दिनु भयो । उहाँले सामान्य घरायसी विषयलाई लिएर स्वार्थ पुरा नहुँदा जिल्लाका केही मिडियाकर्मीहरुले आफुमाथी आरोप लगाएको बताउनु भयो । सभापति चौधरीले प्रमाण विना आफुमाथी लागेको आरोपको आफुले खुलेर खण्डन गर्ने राससलाई बताउनु भयो । सार्वजनिक स्थानमा गरिवहरुका लागि शौचालय निर्माण गर्ने विषयमा भएको विवादलाई लिएर जिल्लाका केही मिडियाकर्मीहरुले व्यक्तिगत दुस्मनी साँध्न आफ्नो बारेमा गलत प्रचारबाजी गरेको उहाँको भनाई छ । साथै जिससमा रकम नभएको र रकम भएपनि जिल्लामा एक मात्र स्थानिय निकाय नभई २० स्थानिय निकाय रहेको बताउनु भयो । उहाँले आफ्नो मानहानी हुनेगरि गरिएको प्रचार प्रसारको विरुद्धमा सम्बन्धीत सरोकारवाला निकाय समक्ष आफु जाने तयारी गरि रहेको बताउनु भएको छ ।