केवाईसी अपडेटको नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ

1.3k Shares

काठमाडौं । बैंक कर्मचारी बनेर ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्ने बहानामा बैंक खाताबाट रकम निकाल्ने गरेको आरोपमा चार जना पक्राउ परेका छन्। साइबर ब्युरोको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बारा देवताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, रामग्राम–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्सा वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन्।

उनीहरूले बैंकको केवाईसी अपडेट गर्नुपर्ने भन्दै बहालवाला तथा अवकाशप्राप्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। त्यस क्रममा पीडितलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपी कोड मागेर बैंक खातामा अनधिकृत पहुँच बनाउने गरेको प्रहरीले जनाएको छ।

खातामा पहुँच पाएपछि रकम विभिन्न अन्य खातामा स्थानान्तरण गरेर ठगी गर्ने गरेको प्राविधिक विश्लेषणबाट खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले उनीहरूलाई साउन ३१ गते नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमबाट ठगी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी दिलीपकुमार गिरीले जानकारी दिएका छन्।

सम्बन्धित समाचार