नेपालगन्ज । बाँकेको कोहलपुरमा ठूलो परिमाणमा अफिम चोपसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको जनाएको छ।
लागुऔषध बिक्री–वितरणमा संलग्न समूहबारे निगरानी गरिरहेको प्रहरी टोलीले सोमबार राति कोहलपुर नगरपालिका–६ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। लागुऔषध नियन्त्रण ब्युरोको नेपालगन्ज र सुर्खेत शाखाबाट खटिएको संयुक्त टोलीले कारबाही अघि बढाएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का ४३ वर्षीय कर्णबहादुर बुढा र कोहलपुर नगरपालिका–६ का ६० वर्षीय टोपजङ्ग गिरी छन्।
उनीहरूको साथबाट १४ किलो ७६० ग्राम अफिम चोप र दुई थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
कोहलपुर–६ मा अफिम चोपको कारोबार भइरहेको सूचनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। प्रहरीलाई देखेपछि दुवै जना भाग्न खोजेकाले रोक्न चेतावनीस्वरूप हवाई फायर गरिएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता डीएसपी जीवन निरौलाले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा राखिएको छ। प्रहरीले लागुऔषध कारोबारविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।