ट्रान्सफर्मर चोरको निशानामा मधेश, पाँच वर्षमा १०१ वटा चोरी

1.1k Shares

मधेश प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएपछि किसान, सर्वसाधारण, नेपाल विद्युत् प्राधिकरण र प्रहरी प्रशासन सबै समस्यामा परेका छन्। विशेषगरी गाउँभन्दा बाहिर चौरमा सिँचाइका लागि जडान गरिएका तथा खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्ने गरेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ३३ वटा ट्रान्सफर्मर चोरी भएका छन्। महोत्तरीमा सबैभन्दा बढी ११ वटा चोरी भएका छन् भने सप्तरीमा ७, धनुषा र बारामा ४–४, सर्लाहीमा ३, सिरहामा २ तथा रौतहटमा एउटा ट्रान्सफर्मर चोरी भएको छ। पछिल्ला पाँच वर्षमा प्रदेशमा १०१ वटा ट्रान्सफर्मर चोरी भएको प्रहरी तथ्यांकले देखाउँछ।

महोत्तरीको औरही नगरपालिका–१ मा सिँचाइका लागि जडान गरिएको १०० केभी क्षमताको ट्रान्सफर्मर हालै चोरी भएपछि किसानलाई धानखेतमा सिँचाइ गर्न समस्या भएको छ। त्यस्तै धनुषाका विभिन्न स्थानमा खानेपानी तथा सिँचाइ आयोजनाका ट्रान्सफर्मर पटक–पटक चोरी भएका छन्।

चोरी रोक्न प्राधिकरणले ट्रान्सफर्मरमा वेल्डिङ गर्ने लगायतका सुरक्षा उपाय अपनाउँदै आएको छ। तर चोरहरूले वेल्डिङसमेत काटेर ट्रान्सफर्मर लैजाने गरेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ। ट्रान्सफर्मरभित्रको तामाको तारलगायत सामग्रीका कारण चोरी हुने गरेको बताइएको छ।

ट्रान्सफर्मर चोरी हुँदा विद्युत् आपूर्ति तथा सिँचाइ र खानेपानी सेवा प्रभावित हुनुका साथै नयाँ ट्रान्सफर्मर जडान र मर्मतमा प्राधिकरणमाथि थप आर्थिक भार पर्ने गरेको छ। प्रहरी र प्राधिकरणले चोरी नियन्त्रणका लागि स्थानीयस्तरमा निगरानी बढाउन तथा ट्रान्सफर्मर जडान गरिएका क्षेत्रका बासिन्दालाई समेत सुरक्षा र निगरानीमा सहयोग गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार