स्याङ्जामा बाढीको बितण्डा : मोटरसाइकलसहित युवक बेपत्ता

1.1k Shares

स्याङ्जा । स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलामा बिहीबार राति ग ११ प ८१८३ नम्बरको मोटरसाइकलसहित दुई जना बगेका हुन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समीप शाहीको सकुशल उद्धार गरिएको छ।

मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगर भने खोलामा बेपत्ता भएका छन्।

घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोजी तथा उद्धार कार्य सुरु गरिएको छ। सुरक्षाकर्मीले रातभर तथा शुक्रबार बिहानदेखि बेपत्ता मगरको खोजीलाई निरन्तरता दिएका छन्।

खोजतलासका क्रममा दुर्घटनास्थलबाट करिब एक सय मिटर तल खोलामा बगेको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल भेटिए पनि त्यसका चालक मगरको अवस्था भने अझै अज्ञात छ।

खोलामा पानीको बहाव अत्यधिक रहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले खोलाको आसपासका क्षेत्रमा समेत खोजीलाई तीव्रता दिएका छन्।

सम्बन्धित समाचार