निम्स दाइको जन्मथलो अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा

11.5k Shares

काठमाडौं । पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा निधन भएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित आरोहण टोलीका सदस्यहरूको सम्मानमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सोमबार शोक बिदा घोषणा गरेको छ।

निर्मल पुर्जाको जन्मथलो अन्नपूर्ण गाउँपालिका–२ दाना हो। गाउँपालिकाले आइतबार सूचना जारी गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा सम्मान व्यक्त गर्न सोमबार अत्यावश्यक सेवाबाहेक गाउँपालिकाअन्तर्गतका सबै कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक विद्यालय बन्द रहने जनाएको छ।

गाउँपालिकाका अनुसार निर्मल पुर्जाको असामयिक निधनले गाउँपालिका परिवार, म्याग्दीवासी मात्र होइन, समग्र नेपाली समाजलाई नै स्तब्ध र मर्माहत बनाएको छ।

सूचनामा नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु नयाँ उचाइमा पुर्‍याउन, नेपाली पर्वतारोहीहरूको पहिचान र गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न तथा साहस, नेतृत्व र समर्पणको अनुपम उदाहरण प्रस्तुत गर्न निर्मल पुर्जाले पुर्‍याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरिएको छ।

गाउँपालिकाले उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले समेत अपूरणीय क्षति व्यहोरेको जनाएको छ।

साथै, शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत सम्पूर्ण आरोहीहरूको आत्माको चिरशान्तिको कामना गरेको छ।

763853091_4644167145851032_1686053376816710537_n.jpe

सम्बन्धित समाचार