लमजुङमा पहिरोले घर पुरिँदा बुबा–छोरीको मृत्यु

1.6k Shares

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा पहिरोले घर पुरिँदा एकैघरका बुबा–छोरीको मृत्यु भएको छ।

आज बिहान गएको पहिरोमा परी ५९ वर्षीय टिकबहादुर विक र उनकी छोरी विनिता विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

प्रहरीका अनुसार घरमाथि रहेको नगरकुलो भत्किएपछि आएको पहिरोले विक परिवार बस्दै आएको दुईतले कच्ची घर पुरेको थियो। पहिरोमा परी टिकबहादुरकी श्रीमती सुकमाया विक र जेठी छोरी अस्मिता विक घाइते भएका छन्।

घाइते दुवैलाई स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

विक परिवार स्थानीय विष्णुदत्त सुवेदीको घरमा बसोबास गर्दै आएको बताइएको छ। घटनापछि नेपाल प्रहरी, स्थानीयवासी र सम्बन्धित निकाय घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापनमा जुटेका छन्।

अविरल वर्षासँगै पहिरोको जोखिम बढिरहेका बेला पहाडी जिल्लाका बासिन्दालाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

 
 
 
 
सम्बन्धित समाचार