एमबीएस प्रश्नपत्र आउट प्रकरणमा ‘सुलभ सर’सहित दुई नियन्त्रणमा

1.2k Shares

काठमाडौं, १० साउन : त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्नपत्र चुहावट प्रकरणमा प्रहरीले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रश्नपत्र सार्वजनिक भएको विषय बाहिरिएपछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार बिहान ‘सुलभ सर’सहित दुई जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार प्रश्नपत्र चुहावटमा उनीहरूको संलग्नताबारे विस्तृत अनुसन्धान भइरहेको छ।

सीआईबीले पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धानलाई विस्तार गरिएको प्रहरी स्रोतले जनाएको छ।

प्रश्नपत्र चुहावटको घटनापछि परीक्षा प्रणालीको सुरक्षा र गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनामा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने सम्बन्धित निकायले जनाएको छ।

सम्बन्धित समाचार