मधेसमा लागूऔषधविरुद्ध प्रहरीको कडा अभियान, तीन वर्षमा २ हजार ८११ पक्राउ

1.3k Shares

जनकपुरधाम। मधेस प्रदेशमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ। नियमित निगरानी र चेकजाँच कडा बनाएपछि लागूऔषध सेवन तथा कारोबारमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी २ हजार १२१ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा विभिन्न प्रकारका लागूऔषधसहित २ हजार ८११ जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा २ हजार ५५४ नेपाली, २५३ भारतीय र एक विदेशी नागरिक रहेका छन्।

गत आर्थिक वर्षमा मात्र ८७१ जनालाई पक्राउ गरी ६३० वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। सो अवधिमा १५ हजार ३८२ किलोग्राम गाँजा, २७२ किलोग्राम चरेस, तीन किलोग्राम अफिम, ५१६ ग्राम ब्राउन सुगर, दुई हजार ८३१ ग्राम हिरोइन, चार लाख ७३ हजार ४८५ लागूऔषधजन्य ट्याब्लेट, दुई हजार ११८ बोतल सिरफ र १८ हजार १२५ इन्जेक्सन बरामद गरिएको छ।

प्रहरीका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै लागूऔषध नेपाल भित्र्याउने क्रम अझै चुनौतीका रूपमा रहेको छ। सीमावर्ती क्षेत्रमा चेकजाँच कडा बनाएसँगै लागूऔषध बोकेर ओहोरदोहोर गर्नेहरू पक्राउ पर्ने क्रम बढेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले पक्राउ पर्ने अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेको बताए। उनका अनुसार बेरोजगारी, पढाइ छोड्नु र गलत साथीसङ्गतका कारण युवा लागूऔषध दुर्व्यसनतर्फ आकर्षित हुने गरेका छन्।

प्रहरीले लागूऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै सीमा क्षेत्रमा निगरानी, चेकजाँच र कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ।

सम्बन्धित समाचार