बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरूले आइफोन मोबाइल लुट्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ। पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–१ का २० वर्षीय रेमबहादुर बिक, १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार रहेका छन्।
प्रहरीका अनुसार साउन १ गते साँझ साथी असिम वनको जन्मदिन मनाउने भन्दै घरबाट निस्किएका लजिन थापा नौ दिनपछि शनिबार बिहान बडिगाड–१ स्थित मनखोलामा मृत अवस्थामा फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानअनुसार घटना हुनुअघि लजिनसहित उनका साथीहरूले स्थानीय विद्यालय परिसरमा राति अबेरसम्म मादक पदार्थ सेवन गरेका थिए। त्यसपछि घर फर्किने क्रममा आइफोन मोबाइलको विषयमा विवाद हुँदा लजिनमाथि कुटपिट भएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंका अनुसार आइफोन लुट्ने क्रममा मुक्का र ढुङ्गा प्रहार गर्दा लजिनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनापछि आरोपितहरूले लजिनको शव मनखोलामा लगेर लुकाएको र मोबाइल साथमा राखे प्रहरीलाई शङ्का पर्न सक्ने भन्दै पुनः शव नजिकै छाडेको प्रारम्भिक बयानमा उल्लेख भएको प्रहरीले जनाएको छ।
शव फेला नपरेको अवस्थामा बेपत्ता बनाएको आशङ्कामा प्रहरीले उनीहरूलाई पाँच दिनअघि नै नियन्त्रणमा लिएको थियो। शव फेला परेपछि उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
काठमाडौंमा आफन्तसँग बस्दै साइपल कलेजमा अध्ययनरत लजिन कक्षा ११ को परीक्षा सकेपछि नागरिकता बनाउन घर आएका थिए। उनी आफ्ना आमाबुबाका एक्ला छोरा रहेको प्रहरीले जनाएको छ।