काठमाडौं ।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित टेलिकम नजिकबाट एसएलआर राइफलमा प्रयोग हुने ६ राउन्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–नक्साल निवासी ४३ वर्षीय विकास महर्जन रहेका छन्। उनलाई प्रहरी चौकी जोरपाटीको टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार ग्यास सिलिन्डर चोरीको आशंकामा महर्जन बस्दै आएको कोठामा खानतलासी गर्ने क्रममा एसएलआरका ६ राउन्ड गोली फेला परेको हो। गोली बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
हाल महर्जनलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ। बरामद गोलीको स्रोत, त्यसको प्रयोगको उद्देश्य तथा अन्य कुनै आपराधिक गतिविधिसँग सम्बन्ध छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।