दमौलीमा सडक अतिक्रमण हटाउन अन्तिम चेतावनी

1.3k Shares

तनहुँ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रमा सडक पेटी अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन अन्तिम चेतावनी दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै साउन १५ गतेभित्र सडक अधिकार क्षेत्रभित्र रहेका संरचना तथा सामग्री स्वयं नहटाए कानुनबमोजिम हटाइने र सम्बन्धित पक्षविरुद्ध कानुनी कारबाही गरिने जनाएको हो।

नगर कार्यपालिकाको साउन १ गते बसेको २४३औँ बैठकको निर्णयअनुसार वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका र्याम्प, सिँढी, बरन्डा, टिनका छज्जा, सडकमा सिधै पानी खसाल्ने पाइप तथा सार्वजनिक आवागमनमा बाधा पुर्‍याउने व्यवसायजन्य सामग्री हटाउन निर्देशन दिइएको छ।

यसअघि जेठ २५ गते ३५ दिने सूचना जारी गरिए पनि अधिकांशले अटेर गरेपछि नगरपालिकाले दोस्रो तथा अन्तिम सूचना जारी गर्दै अब कडाइका साथ अभियान अघि बढाउने जनाएको छ।

मुख्य बजार क्षेत्रमा सडक पेटी र सार्वजनिक स्थान अतिक्रमण हुँदा पैदलयात्रीले सहज रूपमा हिँड्न नपाउने, बजारको सौन्दर्य बिग्रिने तथा दुर्घटनाको जोखिम बढेको नगरपालिकाको भनाइ छ। सडक पेटीमा पसलका सामान र स्थायी संरचना राखिँदा सर्वसाधारण सडकबाटै आवतजावत गर्न बाध्य भइरहेका छन्।

नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयभित्र अतिक्रमण नहटाए नगरपालिका आफैँले संरचना हटाउने, त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने उल्लेख गरिएको छ।

नगरपालिकाले बजारलाई व्यवस्थित, सुरक्षित र पैदलयात्रीमैत्री बनाउन सडक अतिक्रमणविरुद्धको अभियानलाई शून्य सहनशीलताको नीतिअनुसार अघि बढाइने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार