स्याङ्जा । जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी १ करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर १३ हजार ५५१ वटा सवारीसाधन कारबाहीमा परेका थिए। कारबाहीमा सबैभन्दा बढी ४ हजार ६१४ मोटरसाइकल रहेका छन् । त्यसपछि ३ हजार ३२६ कार तथा जिप, २ हजार २५५ ट्रक तथा टिपर, १ हजार ५४० बस, ९१२ ट्र्याक्टर र ९४२ अन्य सवारीसाधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जानकारी दिए।
तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा कारबाही र राजस्व संकलन दुवैमा कमी आएको छ। आर्थिक वर्ष २०८१/८२ मा १९ हजार २८९ सवारीसाधन कारबाहीमा पर्दा १ करोड ४१ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो।
प्रहरीका अनुसार जेनजी आन्दोलन र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही समय नियमित ट्राफिक कारबाही प्रभावित भएकाले कारबाही तथा राजस्व संकलनमा कमी आएको हो।
आर्थिक वर्ष २०८२/८३ मा स्याङ्जामा २० वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने २४ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन्।
प्रहरी नायब निरीक्षक शाहीले ट्राफिक कारबाहीको मुख्य उद्देश्य राजस्व संकलन नभई सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन कायम गर्नु रहेको बताए। उनका अनुसार अत्यधिक गति, ओभरलोड, आवश्यक कागजात नबोक्ने, मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउने तथा हेल्मेट र सिटबेल्ट प्रयोग नगर्ने प्रवृत्ति नियन्त्रण गर्न विशेष निगरानी बढाइएको छ।
यसका साथै विद्यालय, चालक, यातायात व्यवसायी र स्थानीय तहसँग समन्वय गरी ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए। ट्राफिक नियमको पूर्ण पालना गरे दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा घट्ने भएकाले सबै चालक र यात्रुलाई जिम्मेवार भएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।