पोखरा, साउन ३ । निरन्तरको वर्षापछि खसेको पहिरोले पोखरास्थित सेती नदीको बहाव आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमामा पर्ने रातोपैह्रो क्षेत्रमा नदी किनार कटान हुँदा ठूलो पहिरो खसेर नदीको केही भाग अवरुद्ध भएको हो।
घटनाको जानकारी पाएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्की, पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङलगायतको टोली आइतबार बिहान घटनास्थल पुगेर निरीक्षण गरेको थियो।
पहिरोका कारण नदीको पानी सहज रूपमा बग्न नसकेको र बहावमा अवरोध सिर्जना भएको छ। पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङका अनुसार पहिरोले नदी थुनिएको स्थानभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको छ।
नदी थुनिएपछि थप जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै आवश्यक परे थप सुरक्षा तथा उद्धारका तयारीसमेत गरिएको जनाएको छ।