बागलुङ । अविरल वर्षासँगै बागलुङका विभिन्न स्थानमा पहिरो खस्न थालेपछि मुख्य सडकहरू अवरुद्ध हुन थालेका छन् । कालीगण्डकी करिडोर र बुर्तिवाङ–ढोरपाटन सडकमा पटक–पटक पहिरो जाँदा यातायात सेवा प्रभावित भएको हो ।
जैमिनी नगरपालिका–७ जैदी र वडा नम्बर ८ छिस्तीको सिमानास्थित बेलबगरमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर करिब आठ घण्टा अवरुद्ध भएको थियो । प्रहरी, स्थानीयवासी र स्काभेटरको सहयोगमा पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
कालोपत्रे भएपछि कालीगण्डकी करिडोर बागलुङ, म्याग्दी र मुस्ताङ जाने पर्यटकको प्रमुख मार्ग बनेको छ। गुल्मी, पाल्पा र बुटवल हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्री तथा पर्यटकले पनि यही सडक प्रयोग गर्ने भएकाले पहिरोले यात्रुलाई थप सास्ती दिएको छ ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार बेलबगर क्षेत्रको कमजोर भू–बनोटका कारण वर्षायाममा हरेक वर्ष पहिरो खस्ने समस्या दोहोरिने गरेको छ । यसले यात्रुको सुरक्षासँगै सडक सञ्चालनमा समेत चुनौती थप्दै आएको छ ।
यस्तै, कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा सडकअन्तर्गत दब्ल्याङ क्षेत्रमा २०७६ सालदेखि निरन्तर पहिरो खस्दै आएको छ । सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गरेकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका बासिन्दाले वर्षेनी सास्ती भोग्दै आएका छन् ।
पहिरो नियन्त्रणका लागि स्थानीय तह र गण्डकी प्रदेश सरकारले विभिन्न चरणमा लगानी गरे पनि समस्या दिगो रूपमा समाधान हुन सकेको छैन । प्रदेश सरकारले विनियोजन गरेको तीन करोड रुपैयाँको बजेटसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको जनाइएको छ ।
प्रारम्भिक अध्ययन प्रतिवेदनले पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानीको उचित निकास व्यवस्थापन गर्नुपर्ने र त्यसपछि मात्रै सडक संरचना निर्माण गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा कम्तीमा १६ मिटर गहिराइसम्म खम्बा गाडेर चट्टानसम्म पुर्याएपछि मात्र दीर्घकालीन समाधान सम्भव हुने उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बेलबगर र दब्ल्याङ क्षेत्रमा पटक–पटक पहिरो खस्दा यात्रु समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था सिर्जना भएको बताए । निरन्तर वर्षा, सीमित उपकरण र जनशक्ति अभावका कारण सडक खुलाउन अपेक्षाभन्दा बढी समय लाग्ने उनको भनाइ छ ।
उता, सालझण्डी–ढोरपाटन सडकअन्तर्गत फल्लेघरमाथिको क्षेत्रमा पनि वर्षायाममा लेदोसहितको पहिरो खस्ने क्रम जारी छ। १६ वर्षदेखि निर्माणाधीन सालझण्डी–ढोरपाटन सडक समयमै सम्पन्न नहुँदा स्थानीय तथा पर्यटकले प्रत्येक वर्ष आवतजावतमा समस्या भोग्दै आएका छन् ।
ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले नगरपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको बताए । सडक निर्माणमा भइरहेको ढिलाइका कारण पर्यटकीय मौसममा ढोरपाटन पुग्ने पर्यटकसमेत पहिरो र जीर्ण सडकका कारण प्रभावित हुने गरेका छन् ।