पर्वत । लगातार दुई दिनदेखि परेको वर्षाका कारण कालीगण्डकी नदी र सेतीखोलाको जलसतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ । डुबानसँगै नियमित पूजापाठ र दर्शनसमेत प्रभावित भएको छ ।
शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीका अनुसार नदीको बहाव बढेपछि शालिग्राम शिलासम्म पुग्ने बाटो, परिक्रमा स्थल तथा नजिकै रहेको सत्तलसमेत पूर्ण रूपमा डुबानमा परेका छन् । शिलाको दर्शन गर्न जाने सम्पूर्ण मार्ग अवरुद्ध भएपछि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ ।
निरन्तर वर्षाका कारण कालीगण्डकी र सेतीखोलामा पानीको सतह ह्वात्तै बढेपछि शिला क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत सुरक्षित स्थानमा सर्न बाध्य भएका छन् । यसले दैनिक पूजाआजा र धार्मिक गतिविधि पूर्ण रूपमा प्रभावित बनेका छन् ।
स्थानीय तिलक पराजुलीका अनुसार कालीगण्डकी र सेतीखोलाको तीव्र बहावले शालिग्राम क्षेत्रको परिक्रमा स्थल क्षतिग्रस्त बनेको छ । शिला संरक्षणका लागि निर्माण गरिएको तटबन्ध र ग्याबियन जालीसमेत बाढीले पुरिएकाले थप क्षति हुन सक्ने जोखिम बढेको छ । यद्यपि हालसम्म आसपासका बस्तीमा प्रत्यक्ष खतरा नपुगेको उहाँले जानकारी दिनुभयो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सीमामा रहेको सेतीवेणी बजार पनि डुबानको जोखिममा पर्ने गरेको स्थानीयको भनाइ छ । नदीको बहाव बढ्न थालेपछि बजार क्षेत्रका करिब दुई सय व्यापारी तथा स्थानीयवासी त्रसित बनेका छन् ।
दुई वर्षअघि साउन महिनामा आएको बाढी बजारसम्म पुग्दा एक घर बग्नुका साथै आधा दर्जन घर विस्थापित भएका थिए । गल्याङ नगरपालिका–५ का वडाध्यक्ष घनश्याम भट्टराईले कालीगण्डकी नदीको बहाव व्यवस्थापन नगरेसम्म जोखिम कायमै रहने बताउँदै शालिग्राम शिलाको संरक्षणका लागि दीर्घकालीन समाधान आवश्यक रहेको धारणा राख्नुभयो ।
विहादी गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले शालिग्राम शिला रहेको क्षेत्रको संरक्षणका लागि स्याङ्जाको गल्याङ नगरपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाबीच समन्वय गरेर प्रभावकारी योजना अघि बढाउनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले निरन्तर वर्षासँगै नदी, खोला र पहिरो प्रभावित क्षेत्रमा जोखिम उच्च रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले अनावश्यक रूपमा नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा स्थानीय प्रशासनको सूचनालाई नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ ।