काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अविरल वर्षापछि अवरुद्ध भएको नयाँपुल–घान्द्रुक सडक सोमबार दिउँसो ४ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।
आइतबार रातिदेखिको वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–११ स्थित किमरुङ खोलामा आएको बाढी मोदी खोलामा मिसिएपछि नयाँपुल–घान्द्रुक सडकखण्ड कटान भएको थियो। सडक अवरुद्ध हुँदा पर्यटकीय गन्तव्य घान्द्रुकतर्फ जाँदै गरेका दर्जनौं सवारीसाधन र यात्रु बाटोमै रोकिएका थिए।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार कटान भएको क्षेत्रमा डोजर र एक्साभेटर परिचालन गरेर सडक तत्काल एकतर्फी सञ्चालनमा ल्याइएको हो। सडक खुलाउन अप्पर मोदी हाइड्रोपावरले पनि आवश्यक सहयोग गरेको उनले बताए।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र कास्कीका अनुसार बाढीले अन्नपूर्ण गाउँपालिका–८ मा सडक अवरुद्ध गर्नुका साथै स्याउली बजारस्थित दिलिप गुरुङको रेस्टुरेन्ट बगाएको छ। त्यस्तै जगन पुनको घर पनि जोखिममा परेपछि सुरक्षा निकाय र स्थानीयको सहयोगमा घरभित्रका सामग्री सुरक्षित स्थानमा सारिएको छ।
सडक अवरुद्ध हुँदा घान्द्रुकतर्फ जाँदै गरेका ३ बस, १३ जिप, ७ मोटरसाइकल र ४ ट्याक्सीसहित २७ वटा सवारीसाधन बाटोमै रोकिएका थिए। जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार सडक एकतर्फी खुलेपछि यात्रुहरूको आवागमन क्रमशः सहज हुन थालेको छ।
यता, बाढीका कारण अप्पर मोदी हाइड्रोपावरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। लेदो पसेपछि हाइड्रोपावरको ड्याम र सुरुङभित्र क्षति पुगेको छ भने ड्याम मर्मतका लागि राखिएका महत्त्वपूर्ण उपकरणसमेत प्रभावित भएका छन्।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको र प्रभावितलाई राहत उपलब्ध गराउनुका साथै सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम अघि बढाइएको बताए। उहाँको नेतृत्वमा जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले घटनास्थलको स्थलगत अनुगमनसमेत गरेको छ।