बागलुङ । तीन वर्षअघिसम्म बागलुङको बडिगाड गाउँपालिकाका अधिकांश महिला चुलोचौको र परम्परागत खेतीपातीमै सीमित थिए। वर्षभरि मकै, धान, गहुँ र कोदो खेती गरे पनि उत्पादनले छ महिनाभन्दा बढी परिवार धान्न सक्दैनथ्यो। सामान्य व्यक्तिगत खर्चका लागि समेत श्रीमान् वा परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने अवस्था थियो।
तर अहिले त्यही बारीमा व्यावसायिक रूपमा गोलभेँडा, अकबरे खुर्सानीलगायत नगदे बाली उत्पादन हुन थालेका छन्। परम्परागत गोठ आधुनिक पशुपालन केन्द्रमा रूपान्तरण भएका छन् भने महिलाहरू व्यावसायिक कृषि र बाख्रापालनबाट आफ्नै आम्दानी गर्न सफल भएका छन्।
बडिगाड गाउँपालिका र साझेदार संस्थाको सहकार्यमा सञ्चालित ‘हरित आय’ कार्यक्रम ले ग्रामीण महिलाको जीवनशैलीमा उल्लेखनीय परिवर्तन ल्याएको हो। विसं २०८० पुसदेखि गाउँपालिकाका १० वटै वडामा सञ्चालनमा रहेको कार्यक्रममा १ हजार ५६ घरपरिवारका महिला आबद्ध भई कृषि तथा पशुपालनमा आधारित उद्यम सञ्चालन गरिरहेका छन्।
गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउनुका साथै गरिबी न्यूनीकरणमा पनि सकारात्मक योगदान पुर्याइरहेको छ।
उहाँले भन्नुभयो, “पहिले सामान्य खर्चका लागि पनि अरूमा निर्भर हुनुपर्ने अवस्था थियो। अहिले महिलाहरू आफ्नै मेहनतबाट आम्दानी गरिरहेका छन्। हरित आय कार्यक्रमले उनीहरूको जीवनशैली नै परिवर्तन गरेको छ।”
बडिगाड गाउँपालिका–१ की उद्यमी दुर्गा थापाका अनुसार पहिले तरकारीसमेत बजारबाट किनेर खानुपर्ने अवस्था थियो। अहिले आफ्नै बारीमा उत्पादन भएको गोलभेँडा र अकबरे खुर्सानीले वर्षभरि घरखर्च धान्न, बालबालिकाको पढाइ खर्च जुटाउन र बचत गर्नसमेत सहयोग पुगेको छ।
“पहिला हाम्रो समय चुलोचौको र अरूको मेलापातमै बित्थ्यो। अहिले आफ्नै खेतबारीमा काम गर्न भ्याइनभ्याइ छ। परम्परागत खेतीबाट जीविकोपार्जन गर्न गाह्रो थियो, तर अहिले तरकारी खेतीले आम्दानीसँगै आत्मविश्वास पनि बढाएको छ,” थापाले भन्नुभयो।
कार्यक्रमअन्तर्गत महिलालाई उन्नत जातका बाख्रा, बोका, मिनी टिलर, प्लास्टिक टनेल लगायतका कृषि सामग्री उपलब्ध गराइनुका साथै व्यावसायिक तरकारी खेती, बाख्रापालन र नेतृत्व विकाससम्बन्धी तालिम पनि प्रदान गरिएको छ।
बडिगाड–७ टुनीबोटका महिलाले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन्। स्थानीय उद्यमी कुमारी रोका गुरुङका अनुसार पहिले मकै र गहुँ फल्ने बारीमा अहिले लाखौँ रुपैयाँ बराबरको अकबरे उत्पादन हुन थालेको छ। स्थानीय महिलाले एक सिजनमै २० हजारदेखि एक लाख रुपैयाँसम्मको अकबरे खुर्सानी बिक्री गरिरहेका छन्।
गुरुङले भन्नुभयो, “जग्गा उही हो, खेती पनि उही हो, तर सीप र प्रविधि परिवर्तन भएपछि आम्दानी पनि बदलियो। अब सामान्य रोजगारीका लागि विदेश जानुपर्छ भन्ने सोच घटेको छ। आफ्नै बारीमा मेहनत गरेर राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने विश्वास बढेको छ।”
हरित आय कार्यक्रमले बडिगाडका महिलालाई केवल आयआर्जनमा मात्र होइन, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र व्यावसायिक कृषिप्रति आकर्षित गराउँदै ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएको स्थानीयवासीको भनाइ छ।