नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत दाउन्ने खण्डमा कंक्रिट ढलानको काम अन्तिम चरणमा पुगेको छ । आयोजना कार्यालयले भौगोलिक जटिलता र सडकको दीर्घकालीन दिगोपनलाई ध्यानमा राख्दै यस खण्डमा कालोपत्रको सट्टा कंक्रिट सडक निर्माण गरिएको जनाएको छ ।
आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्ने क्षेत्रमा निरन्तर पानी चुहिने, जमिन कमजोर हुने र उकालोमा भारी सवारीसाधनको अत्यधिक चापका कारण कालोपत्रे सडक छिट्टै बिग्रने जोखिम देखिएकाले कंक्रिट ढलान गर्ने निर्णय गरिएको हो । उनका अनुसार कंक्रिट सडक कम्तीमा ३० वर्षसम्म टिक्ने अपेक्षा गरिएको छ भने यस अवधिमा मर्मतसम्भारको खर्च पनि उल्लेख्य रूपमा घट्नेछ ।
आयोजनाका अनुसार दाउन्ने बाहेक अधिकांश क्षेत्रमा सडक कालोपत्र, डिभाइडर, सडक सुरक्षा संरचना र सेवा लेन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ । पूर्वी खण्डमा पुल तथा कल्भर्ट निर्माण सकिएको छ भने दाउन्ने क्षेत्रमा बाँकी रहेका केही प्राविधिक काम पनि अन्तिम चरणमा पुगेका छन् ।
नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ९० प्रतिशतभन्दा माथि पुगेको आयोजनाले जनाएको छ। बाँकी काम निर्धारित समयभित्र सम्पन्न गरी यात्रुलाई सहज, सुरक्षित र दीर्घकालीन सडक सेवा उपलब्ध गराउने लक्ष्य रहेको आयोजना कार्यालयको भनाइ छ ।