गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका क्रममा स्रोतको अभाव नहुने स्पष्ट पारेका छन् ।
आइतबार प्रदेशसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले स्रोत सुनिश्चित गरेर यथार्थपरक तथा कार्यान्वयनयोग्य बजेट ल्याएको बताए । “स्रोत सुनिश्चित गरेर बजेट ल्याइएको छ, त्यसैले कार्यान्वयनमा स्रोतको कुनै कमी हुँदैन,” उनले भने ।
मुख्यमन्त्री पाण्डेका अनुसार कर्मचारीको तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट केही बढाउनुपरेको हो । यद्यपि नागरिकका आवश्यकता र जनप्रतिनिधिबाट आएका मागलाई सकेसम्म बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिएको उनले बताए ।
प्रदेश सरकार सुशासन, मितव्ययिता र प्रशासनिक खर्च कटौतीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अनावश्यक खर्च नियन्त्रणलाई प्राथमिकतामा राखिने बताए । गत भदौ २३ र २४ गते भएको ‘ज्यानजी’ आन्दोलनलगायत विभिन्न कारणले चालु आर्थिक वर्षमा प्रदेश सरकारको कार्यसम्पादन अपेक्षाअनुसार हुन नसकेको उनले स्वीकार गरे ।
मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना पुनः सञ्चालनका लागि सङ्घीय सरकारसँग समन्वय गरिने जानकारी दिए। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक पहल गरिरहेको पनि उनले बताए ।
बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले दिएका सुझाव, सल्लाह र जिज्ञासालाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्दै कार्यान्वयन प्रक्रियामा समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले असार ५ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सम्पन्न भएपछि मुख्यमन्त्री पाण्डेले समग्र बजेटबारे सरकारको धारणा राखेका हुन् ।
बैठकको विशेष समयमा पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले जननेता मदन भण्डारीको व्यक्तित्व र योगदानबारे चर्चा गरेका थिए ।
त्यसैगरी, आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले सम्बन्धित मन्त्रालयको बजेट शीर्षकमाथि प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए ।
गण्डकी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।