विराटनगर । झापामा करिब आठ महिनाअघि भएको आत्महत्याको घटनासँग सम्बन्धित आत्महत्या दुरुत्साहन मुद्दामा चार जनाविरुद्ध परेको जाहेरीमध्ये दुई जनालाई उन्मुक्ति दिई दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको विषयले विवाद उत्पन्न गरेको छ।
२०८२ कात्तिक १७ गते झापाको कमल गाउँपालिका निवासी तथा सुनसरीको इटहरीस्थित कामधेनु दुग्ध विकास सहकारी संस्थामा कार्यरत प्रेम मिश्रले आत्महत्या गर्नुभएको थियो। बजारबाट उठाउनुपर्ने करिब सात लाख ५० हजार रुपैयाँ असुल गर्न दबाब दिँदै मानसिक यातना दिइएको आरोपसहित उहाँका आफन्त र सहकर्मीले इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका थिए।
जाहेरीमा सहकारीका अध्यक्ष यादप ढकाल, बजार अनुगमन समितिका संयोजक तथा सञ्चालक विज्ञान ढुङ्गाना, बजार प्रमुख रन्जित कुमार झा र बजार विक्रेता शेरबहादुर खड्कालाई विपक्षी बनाइएको थियो। तर प्रहरी अनुसन्धानपछि अध्यक्ष ढकाल र सञ्चालक ढुङ्गानाको नाम हटाएर रन्जित कुमार झा र शेरबहादुर खड्काविरुद्ध मात्रै जिल्ला सरकारी वकिलको कार्यालयमार्फत झापा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।
जिल्ला अदालतको अभिलेखअनुसार नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादी बनाइएका झा र खड्का अदालतमा उपस्थित भई हाल धरौटीमा रिहा भएका छन्।
जाहेरीकर्ता तेजप्रसाद सुवेदीले चार जनाविरुद्ध जाहेरी दिइएको भए पनि प्रमाण हुँदाहुँदै दुई जनालाई उन्मुक्ति दिइएको भन्दै असन्तुष्टि जनाउनुभएको छ। उहाँले अनुसन्धान निष्पक्ष नभएको र यसमा चलखेल भएको आशंका व्यक्त गर्नुभएको छ।
यता, इलाका प्रहरी कार्यालय दमकका मुद्दा फाँटका प्रहरी निरीक्षक नवीन राईले उपलब्ध प्रमाण र सूक्ष्म अनुसन्धानका आधारमा दुई जनाको नाम हटाएर बाँकी दुई जनाविरुद्ध मात्रै मुद्दा दायर गरिएको बताउनुभयो।
जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेश झाले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो।
उजुरी परेको करिब छ महिनापछि मात्रै मुद्दा दायर भएको र प्रारम्भिक जाहेरीमा रहेका दुई जनालाई अनुसन्धानकै क्रममा उन्मुक्ति दिइएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग उठ्न थालेको छ।