काठमाडौँ । मेटाले फेसबुक र इन्स्टाग्राममा लाइभ सपिङ तथा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित नयाँ विज्ञापन सुविधाहरू थपेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत उत्पादन खोज, प्रचार र खरिद प्रक्रियालाई थप सहज बनाउने उद्देश्यले यी सुविधा सार्वजनिक गरेको हो।
नयाँ व्यवस्थाअनुसार व्यवसायी तथा सामग्री निर्माताले लाइभ भिडियोमार्फत उत्पादन प्रवर्द्धन गर्न सक्नेछन्। दर्शकले लाइभ प्रसारण हेर्दै उत्पादनको विवरण, मूल्य र खरिदसम्बन्धी जानकारी एकै स्थानमा प्राप्त गर्न सक्ने सुविधा उपलब्ध हुनेछ। फेसबुकमा यो सेवा विश्वव्यापी रूपमा विस्तार गरिएको छ भने इन्स्टाग्राममा पनि ‘लाइभ भिडियो एड्स’ थपिएको छ।
मेटाले एआईको प्रयोगमार्फत प्रयोगकर्ताको रुचिअनुसार उपयुक्त विज्ञापन स्वतः चयन गर्ने प्रणाली पनि विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार विज्ञापनदाताले सामग्री र उत्पादनसम्बन्धी विवरण उपलब्ध गराएपछि एआईले कुन प्रकारको विज्ञापन कसलाई देखाउने भन्ने निर्णय गर्नेछ।
यससँगै मेटाले एफिलिएट साझेदारी र सुरक्षित भुक्तानी प्रणालीसम्बन्धी सुविधा पनि विस्तार गरेको छ। यसले सामग्री निर्मातालाई आफ्ना पोस्टमार्फत उत्पादन सिफारिस गरी आम्दानी गर्ने अवसर बढाउने अपेक्षा गरिएको छ।