दानबहादुर कार्कीको पुनर्बहाली माग्दै सर्वोच्चमा रिट

897 Shares

काठमाडौं । प्रहरी महानिरीक्षकबाट बर्खास्त गरिएका दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने निर्णय गैरकानुनी भएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्। सर्वोच्च अदालतले उनको रिट दर्ता गरेको छ।

कार्कीले आफूलाई गैरकानुनी तरिकाले जिम्मेवारीबाट हटाइएको जिकिर गर्दै पुनर्बहालीको माग गरेका छन्। प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिसकेका कार्कीले आफ्नो पदमुक्तिको निर्णय बदर गर्न अदालतसँग माग गरेका हुन्।

कार्कीको कानुनी प्रतिरक्षामा सहयोग गरिरहेका अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार सर्वोच्च अदालतमा रिट दर्ता भए पनि सुनुवाइको मिति अर्थात् पेसी भने तोकिएको छैन।

सामान्यतया सर्वोच्च अदालतमा रिट दर्ता भएको भोलिपल्टदेखि सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ। तर, यसपटक तिहार बिदाका कारण कार्कीको मुद्दाको सुनुवाइ तत्काल हुने छैन।

शनिबारदेखि २५ गते बुधबारसम्म सर्वोच्च अदालतमा तिहार बिदा रहेकाले बिदा सकिएपछि मात्रै रिटको पेसी निर्धारण हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ।

रिट दर्तासँगै कार्कीले आफूलाई पदबाट हटाउने निर्णयविरुद्ध न्यायिक उपचार खोज्ने प्रक्रिया अघि बढाएका छन्। अब सर्वोच्च अदालतले उनको माग र पदमुक्तिसम्बन्धी निर्णयको कानुनी आधारबारे सुनुवाइ गर्नेछ।

सम्बन्धित समाचार