विमानस्थलको ब्यागेज व्यवस्थापनमा प्रविधिको प्रयोग, आगमन कक्षमै देखिने भयो सामानको लाइभ दृश्य

967 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट नेपाल आउने यात्रुका लागि नयाँ प्रविधिमैत्री सुविधा सञ्चालनमा ल्याइएको छ। अब यात्रुले विमानबाट झारिएको आफ्नो सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाको प्रत्यक्ष दृश्य आगमन कक्षबाटै हेर्न पाउने भएका छन्।

ब्यागेज व्यवस्थापनलाई पारदर्शी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले विमानस्थलको आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा लाइभ फिड सेवा सुरु गरिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु भएको यो व्यवस्थाले अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुलाई सामानको अवस्थाबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनेछ।

यसअघि विमानबाट सामान झारिएपछि ब्यागेज बेल्टसम्म आइपुग्न कति समय लाग्छ भन्ने विषयमा यात्रुहरू अनभिज्ञ रहने गरेका थिए। पर्याप्त सूचना नहुँदा यात्रुहरूले लामो समयसम्म अन्योलमा रहेर सामान कुर्नुपर्ने अवस्था थियो।

नयाँ सुविधासँगै यात्रुले सामान झारिएको प्रक्रिया प्रत्यक्ष हेर्न सक्नेछन्। यसले आफ्नो ब्यागेज प्राप्त गर्न लाग्ने समयको अनुमान गर्न पनि सहज बनाउने अपेक्षा गरिएको छ।

विमानस्थलमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा यात्रुको प्रतीक्षा अनुभवलाई सहज तुल्याउने उद्देश्यले प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको जनाइएको छ।

लाइभ फिड सेवाले ब्यागेज व्यवस्थापनमा पारदर्शिता बढाउनुका साथै विमानस्थलको सेवा प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचार