क्यान्सरपीडित महिलालाई सहजताका लागि घरमै नागरिकता दिइयो
946
Shares
असार, काभ्रेपलाञ्चोक । क्यान्सर उपचारमा रहेकी एक महिलालाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल–२ की सुनिता वाइबा, जो आन्द्राको क्यान्सरका कारण बेड रेस्टमा रहेकी र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्, उनलाई बुधबार प्रशासनको टोलीले घरमै पुगेर नागरिकता उपलब्ध गराएको हो ।
नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालयबाट प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, खरिदार आरुषी महतरा र सहयोगी होम निरौलासहितको टोली घरमै पुगेको थियो ।
प्रशासकीय अधिकृत सापकोटाका अनुसार नागरिकताको अभावमा उपचार तथा आवश्यक प्रशासनिक प्रक्रियामा समस्या देखिएपछि वडाको समन्वयमा घरमै पुगेर सेवा दिइएको हो । उनले भने, उहाँ आन्द्राको क्यान्सरका कारण हाल अत्यन्तै कमजोर अवस्थामा हुनुहुन्छ। नागरिकता नहुँदा उपचारमा कठिनाइ भएको जानकारी आएपछि हामी घरमै पुग्यौँ।
जिल्ला प्रशासन कार्यालयले यस्ता गम्भीर अवस्थाका बिरामी तथा अशक्त नागरिकलाई आवश्यक सेवा घरदैलोमै पुगेर उपलब्ध गराउने नीति अनुसार काम भइरहेको जनाएको छ ।