फ्रान्स । विश्वकप २०२६ को तयारीअन्तर्गत खेलिएको मैत्रीपूर्ण खेलमा फ्रान्स राष्ट्रिय फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उत्तरी आयरल्यान्डलाई ३–१ ले पराजित गरेको छ। खेलमा फ्रान्सका युवा मिडफिल्डर माइकल ओलिसले ह्याट्रिक गर्दै टोलीको जितमा निर्णायक भूमिका निर्वाह गरेका हुन्।
लिलमा सम्पन्न खेलमा फ्रान्सले पहिलो हाफमै अग्रता लिएको थियो। खेलको ४३औँ मिनेटमा डेम्बेलेको प्रहार विपक्षी डिफेन्डरबाट डिफ्लेक्ट भएर आएको अवसरलाई सदुपयोग गर्दै ओलिसले पहिलो गोल गरे। पहिलो हाफको अन्त्यअघि नै अग्रता बनाएको फ्रान्सले दोस्रो हाफ सुरु भएको चार मिनेटमै पुनः गोल गर्दै स्थिति बलियो बनायो।
दोस्रो गोल विपक्षीको कमजोर क्लियरन्सपछि प्राप्त अवसरमा ओलिसले शक्तिशाली प्रहारमार्फत गरे। त्यसपछि खेलको ७५औँ मिनेटमा उनले व्यक्तिगत कौशल देखाउँदै पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट कर्लिङ शटमार्फत ह्याट्रिक पूरा गरे।
उत्तरी आयरल्यान्डले एक गोल फर्काए पनि खेलमा फर्कन सकेन र फ्रान्सले सहज जित हात पार्यो। खेलमा फ्रान्सका स्टार खेलाडीहरू किलियन एम्बापे, उसमान डेम्बेले र अन्य आक्रमणकारीहरू सक्रिय रहे पनि सबैभन्दा प्रभावशाली प्रदर्शन ओलिसको रह्यो।
यो जितसँगै फ्रान्सले विश्वकप २०२६ अघि आफ्नो टोली सन्तुलित र आक्रमणात्मक रूपमा बलियो रहेको संकेत दिएको छ। प्रशिक्षक डिडिएर देशाँका लागि यो खेल मुख्य खेलाडीहरूको अन्तिम परीक्षणका रूपमा समेत लिइएको छ।
यस प्रदर्शनपछि ओलिसलाई फ्रान्सको आगामी विश्वकप टोलीका लागि महत्वपूर्ण खेलाडीका रूपमा हेरिन थालेको छ।