हुम्ला । हुम्ला नाका हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश–मानसरोवर दर्शन गर्न जाने विदेशी पर्यटकहरूको संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको छ। विशेषगरी भारतीय धार्मिक पर्यटकहरूको आगमन तीव्र रूपमा बढ्दै गएको देखिएको छ।
हुम्लाको हिल्सा नाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख अन्त्यतिरबाट मात्र विदेशी पर्यटकहरूको आवागमन सुरु भएको थियो। त्यसयता सिमकोट विमानस्थलमा दैनिक रूपमा पर्यटकहरूको चाप बढ्दै गएको छ।
वैशाख ३० गतेदेखि जेठ २३ गतेसम्म मात्रै हुम्ला हुँदै कैलाश–मानसरोवर दर्शन गर्न २ हजार ७४७ विदेशी पर्यटक भित्रिएका छन्। वैशाख महिनामा ११४ जना र जेठ महिनामा मात्र २ हजार ६३२ जना पर्यटक पुगेका छन्, जसमा महिला र पुरुष दुवैको संख्या उल्लेख्य रहेको छ।
स्थानीय प्रशासनका अनुसार जेठ महिनामा मात्र १ हजार २९२ महिला र १ हजार ३४० पुरुष पर्यटक हुम्ला पुगेका छन्। कोरोना महामारीपछि यो अवधिमा सबैभन्दा बढी पर्यटक आगमन भएको बताइएको छ।
हिल्सा नाका सञ्चालनमा आएपछि नेपालगन्ज–सिमकोट–हिल्सा मार्ग छोटो र सहज भएकाले भारतीय धार्मिक पर्यटकहरूको प्राथमिकता यही रुटमा बढेको छ। अनुकूल मौसममा दैनिक ५ देखि १० वटा उडानहरू भइरहेका छन् भने हेलिकोप्टर सेवा पनि निरन्तर सञ्चालनमा छ।
पर्यटक आगमन बढेसँगै स्थानीय होटल तथा पर्यटन व्यवसाय फस्टाएको छ। सिमकोट र हिल्सा क्षेत्रमा होटलहरू भरिभराउ छन् भने स्थानीय बासिन्दाले रोजगारीका अवसर पनि पाएका छन्।
स्थानीय तहले हुम्ला प्रवेश गर्ने विदेशी पर्यटकबाट शुल्क संकलन गर्दै आएको छ, जसअन्तर्गत भारतीय पर्यटकसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिइन्छ।
जेठ, असार र साउनलाई कैलाश–मानसरोवर दर्शनका लागि उपयुक्त समय मानिन्छ, जसका कारण आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको छ।