निःशुल्क बेड हजारौँ खाली, तर गरिब बिरामी उपचारविहीन - नीतिगत अस्पष्टतामाथि प्रश्न

2.5k Shares

काठमाडौं । विपन्न, असहाय र बेवारिसे नागरिकका लागि छुट्याइएका हजारौँ निःशुल्क बेड देशभरका अस्पतालमा खाली देखिएका छन् भने अर्कोतर्फ सामान्य उपचार नपाएर बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था यथावत् छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको ‘फ्रि हेल्थ पोर्टल’ अनुसार देशभरका १६४ अस्पतालमा छुट्याइएका ३ हजार ८२० निःशुल्क बेडमध्ये ३ हजार ५६८ बेड खाली छन् भने मात्र २५२ बेड प्रयोगमा छन् ।

सरकारले २०७७ सालको स्वास्थ्य संस्था सञ्चालन मापदण्डअनुसार प्रत्येक अस्पतालले कुल शय्याको कम्तीमा १० प्रतिशत विपन्न तथा असहायका लागि निःशुल्क छुट्याउनुपर्ने व्यवस्था गरेको थियो । तर, व्यवहारमा यो नीति प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।

वीर अस्पताल लगायतका ठूला सरकारी अस्पतालमा पनि निःशुल्क बेड प्रणाली स्पष्ट रूपमा लागू नभएको र अस्पतालहरूले आवश्यकताका आधारमा सेवा दिइरहेको दाबी गरेका छन् । निजी अस्पतालहरूले भने विपन्न बिरामीको स्पष्ट परिभाषा र उपचारको दायरा नतोकिँदा समस्या देखिएको बताएका छन् ।

अस्पताल र स्वास्थ्य मन्त्रालयबीच निःशुल्क सेवाको व्याख्यामा फरक–फरक बुझाइ हुँदा कार्यान्वयनमा अन्योल देखिएको छ । मन्त्रालयले भने पोर्टल अद्यावधिक नहुनु र अनुगमनको कमजोरीका कारण वास्तविक अवस्था नदेखिएको बताएको छ ।

यता, निजी अस्पताल सञ्चालकहरूले सम्पूर्ण उपचार निःशुल्क गराउने सरकारी अपेक्षा अव्यावहारिक भएको भन्दै कानुनी र आर्थिक चुनौती देखिएको तर्क गरेका छन् ।

सरकारले भने निःशुल्क स्वास्थ्य सेवाको स्पष्ट कार्यविधि बनाएर प्रणालीलाई प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार