काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औँ पटक आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
इलाममा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार काठमाडौं ल्याइएको हो। उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा थप उपचारका लागि लगिएको छ।
इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन बसिरहेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा रगतमा चिनीको मात्रा अत्यधिक घट्नुका साथै मुटुको धड्कनमा समेत समस्या देखिएको चिकित्सकहरूले बताएका थिए।
इलाम अस्पतालका चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र जीवनसमेत जोखिममा पर्न सक्ने अवस्था देखिएपछि थप सुविधासम्पन्न अस्पतालमा स्थानान्तरण गर्न सिफारिस गरिएको थियो।
श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई अक्सिजन दिएर उपचारसमेत गरिएको थियो। अस्पतालले आवश्यक उपचार तथा स्वास्थ्य निगरानीका लागि काठमाडौं पठाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गरेको थियो।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न ६ बुँदे माग राख्दै गत कात्तिक १२ गतेदेखि आफ्नो २५औँ सत्याग्रह सुरु गरेका हुन्। यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै उनले पुनः आमरण अनशन थालेका थिए।
उनका प्रमुख मागमा मापदण्ड पूरा नगरेका संस्थालाई एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग तथा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति र निर्णय प्रक्रियाबारे निष्पक्ष छानबिन गर्नुपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने रहेका छन्।
त्यस्तै, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, सार्वजनिक शिक्षण संस्थामा ७५ प्रतिशत छात्रवृत्ति व्यवस्था लागू गर्नुपर्ने तथा सरकारसँग भएका स्वास्थ्य र शिक्षा क्षेत्र सुधारसम्बन्धी सहमति कार्यान्वयन गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।
नेपाल चिकित्सक संघले समेत डा. केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल वार्ता गरी उनका माग सम्बोधन गर्न आग्रह गरेको छ।
डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनका माग सम्बोधन गर्न सरकारमाथि दबाब बढेको छ।