काठमाडौं । सम्भावित भारी वर्षा, बाढीपहिरो र डुबानको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै सम्भावित विपद्बाट प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने गरी पूर्वतयारी र प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार यही कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबताससहित मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ । यसबाट बाढीपहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरिएको छ ।
एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहन सक्ने आपत्कालीन सम्पर्क व्यक्ति तोक्न र उनको सम्पर्क विवरण एकाइमा उपलब्ध गराउन भनिएको छ ।
त्यसैगरी, हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोलीसहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य आवश्यक स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ । स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति र सामग्रीको विवरण अद्यावधिक राख्नुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रभावित क्षेत्रमा घाइते तथा बिरामीलाई समयमै अस्पताल पुर्याउन प्रदेशस्थित एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्न र एम्बुलेन्स सेवा प्रभावकारी रूपमा परिचालन गर्न निर्देशन दिइएको छ ।
एकाइले सम्भावित विपद्सम्बन्धी घटना तथा अवस्थाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन पनि प्रदेशका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई आग्रह गरेको छ ।
सम्भावित विपद्को समयमा स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति तथा स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न निर्देशन दिइएको हो ।