प्रतिनिधिसभा निर्वाचनको समग्र मूल्याङ्कन गर्न आयोगको केन्द्रीय समीक्षा कार्यशाला सुरु

2.1k Shares

काठमाडौँ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र मूल्याङ्कन तथा आगामी निर्वाचन सुधारका उपायबारे छलफल गर्न केन्द्रीय समीक्षा कार्यशाला सुरु गरेको छ।

आयोगले यसअघि बागमती प्रदेशबाहेक सबै प्रदेशमा समीक्षा कार्यक्रम सम्पन्न गरिसकेपछि बिहीबार काठमाडौँमा केन्द्रीयस्तरको समीक्षा कार्यशाला आयोजना गरेको हो।

कार्यशालाको उद्घाटन तत्कालीन प्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संयुक्त रूपमा गरेका थिए।

कार्यक्रममा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा, संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, निर्वाचन पर्यवेक्षक, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले प्रदेश तथा केन्द्रीय समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव, असल अभ्यास र देखिएका कमजोरीहरूको मूल्याङ्कनका आधारमा आगामी निर्वाचनलाई अझ प्रभावकारी, विश्वसनीय र व्यवस्थित बनाउन आवश्यक सुधारका खाका तयार गरिने जानकारी दिए।

गत भदौ २३ र २४ गते भएको जनआन्दोलनपछि अन्तरिम सरकार गठन भई तत्कालीन प्रतिनिधिसभा विघटन भएपछि नयाँ निर्वाचन घोषणा गरिएको थियो। आयोगले सो निर्वाचनको अनुभव, चुनौती र उपलब्धिहरूको समीक्षा गर्दै भविष्यका निर्वाचनलाई थप सुदृढ बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गरेको जनाएको छ।

सम्बन्धित समाचार