श्चिमी न्यूनचापीय प्रभावः पहाडमा वर्षा, तराईमा तातो लहरको जोखिम

2.2k Shares

काठमाडौं । मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ भने तराईका केही जिल्लामा तातो लहरको जोखिम बढेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा तराईमा आंशिक बदली रहने जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यता, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम तातो लहर चल्न सक्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही जिल्लामा गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी भू–भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान छ। कोशी प्रदेशका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

तातो लहरबाट जोगिन दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा ननिस्कन, हल्का र सुती कपडा लगाउन, बाहिर जाँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित समाचार