विभेदरहित समाज नै समृद्ध नेपालको आधार : उपराष्ट्रपति यादव

1.5k Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार भएको उल्लेख गर्दै यसतर्फ सबै पक्ष सचेत हुन आवश्यक रहेको बताएका छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति यादवले संविधानले जातीय छुवाछूतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दै सबै नागरिकलाई समान अधिकार र अवसर सुनिश्चित गरेको स्मरण गराएका छन्।

तर, केवल कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै उनले सामाजिक चेतना, सांस्कृतिक रूपान्तरण, शिक्षा र नागरिक सक्रियता पनि उत्तिकै आवश्यक रहेको बताएका छन्। उनले भनेका छन्, “कानुनी व्यवस्था मात्रले पुग्दैन, सामाजिक चेतना, सांस्कृतिक रुपान्तरण, शिक्षा र नागरिक सक्रियता पनि उत्तिकै आवश्यक छ।”

विसं २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको हो। उपराष्ट्रपति यादवले यो दिवस सामाजिक न्याय, समानता र मानवअधिकार सुनिश्चित गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गरेका छन्।

उनका अनुसार विगतमा जातीय भेदभाव र छुवाछूतका कारण धेरै समुदाय शिक्षा, रोजगारी, आर्थिक अवसर र सामाजिक सहभागिताबाट वञ्चित रहनुपरेको थियो। संविधानले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गर्दै समतामूलक समाज निर्माणको लक्ष्य लिएको उनले बताएका छन्।

उपराष्ट्रपति यादवले यो दिवस केवल स्मरणका लागि मात्र नभई आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समतामूलक समाज निर्माण गर्ने दृढ संकल्पको प्रतीक भएको पनि उल्लेख गरेका छन्।

दिवसले भेदभावविरुद्धको आवाजलाई सशक्त बनाउँदै समानता, न्याय र समावेशी समाज निर्माणमा सबै नागरिकलाई प्रेरित गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

सम्बन्धित समाचार