काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदले आपसी मित्रता, भाइचारा र सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय एकताको भावना विकास तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले खेलकुद केवल प्रतिस्पर्धा, पेसा, ख्याति र पहिचानमा मात्र सीमित नरहेको उल्लेख गर्नुभयो।
उहाँले खेलकुद व्यक्तिको सर्वाङ्गीण विकासको सशक्त माध्यम भएको बताउँदै अनुशासन, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र राष्ट्रिय एकताको आधारका रूपमा समेत स्थापित भएको धारणा राख्नुभयो।
राष्ट्रपति पौडेलका अनुसार खेलकुद परम्परागत मनोरञ्जनको सीमाभन्दा माथि उठेर राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने महत्वपूर्ण क्षेत्रका रूपमा विकास भएको छ। त्यसैले विद्यालय तहदेखि नै खेल गतिविधि र प्रतियोगिता विस्तार गरी विद्यार्थीलाई खेलप्रति आकर्षित र प्रोत्साहित गर्न विशेष नीति तथा कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो।
उहाँले नेपालमा खेलप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खेलकुदमार्फत भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने विश्वास युवापुस्तामा जगाउन राज्यले आवश्यक लगानी र प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
विद्यालयस्तरदेखि नै शिक्षा र खेललाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले खेल संस्कृतिको विकास र विस्तारका लागि यस्ता प्रतियोगिता संघ, प्रदेश र स्थानीय तहमा नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो।
राष्ट्रपति पौडेलले जित र हार खेलको स्वाभाविक पक्ष भए पनि प्रतियोगितामा सहभागिता, निरन्तर अभ्यास, प्रयास, सिकाइ र अनुभव नै खेलाडीका लागि सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्नुभयो।