पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने

1.7k Shares

काठमाडौं । मुलुकको पश्चिमी क्षेत्र आसपास सक्रिय रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही क्षेत्रमा तापक्रम बढ्ने अनुमान गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। अन्य पहाडी भूभागमा आंशिक बदली छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहने सम्भावना छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ। बढ्दो गर्मीका कारण आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्र तथा मधेश र कोशी प्रदेशको तराईमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, मधेश र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

त्यसैगरी, देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले विशेषगरी मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी पछिल्ला सूचनाबारे नियमित जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित समाचार