नेपाल कहिल्यै उपनिवेश बनेन, कसैसँग पराजित पनि भएन भन्ने कुरा रोचक लाग्यो’ : रोजर्स

1.8k Shares

काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपाल कहिल्यै कुनै विदेशी शक्तिको उपनिवेश नबनेको र कसैसँग पराजित पनि नभएको तथ्य आफूलाई निकै रोचक लागेको बताएकी छन्।

काठमाडौंमा आयोजित ‘असेन्ट समिट २०२६’ लाई सम्बोधन गर्दै उनले नेपालको स्वतन्त्र इतिहास, सांस्कृतिक विविधता र हिमाली सम्पदाको प्रशंसा गरिन्। नेपालले आफ्नो सार्वभौम अस्तित्व जोगाउँदै विशिष्ट पहिचान कायम राखेको उल्लेख गर्दै उनले यसले आफूलाई प्रभावित बनाएको बताइन्।

रोजर्सले नेपाल र अमेरिकाबीचको सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नरही जनस्तरमा समेत बलियो बन्दै गएको उल्लेख गरिन्। उनले पर्यटन, शिक्षा, नवप्रवर्तन र उद्यमशीलताका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुने विश्वास व्यक्त गरिन्।

उनले नेपालको प्राकृतिक सौन्दर्य, हिमाल र साहसिक पर्यटनको सम्भावना विश्वकै लागि आकर्षणको केन्द्र रहेको बताउँदै दिगो पर्यटन विकासमा जोड दिइन्। साथै, युवाको क्षमता विकास र अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालले थप प्रगति गर्न सक्ने धारणा व्यक्त गरिन्।

नेपाल भ्रमणका क्रममा रोजर्सले विभिन्न सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा युवा उद्यमीहरूसँग भेटघाट गरी द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार