काठमाडौं । पछिल्ला केही दिन देशका विभिन्न स्थानमा भएको वर्षाका कारण तापक्रम घटे पनि अब विस्तारै गर्मी बढ्ने संकेत देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा कम हुँदै गएसँगै विशेषगरी तराईका क्षेत्रमा तापक्रम पुनः उकालो लाग्ने सम्भावना रहेको छ।
विभागले जनाएको छ कि पछिल्लो तीन दिनमा देशको अधिकतम तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि नपुगेको भए पनि सोमबारदेखि मौसम खुल्न थालेपछि गर्मी बढ्न थालेको हो। सोमबार भैरहवामा अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस मापन गरिएको छ।
सोमबार राति १० बजेसम्मको विवरणअनुसार पछिल्लो एक घण्टामा देशका कुनै पनि क्षेत्रमा वर्षा भएको थिएन। पछिल्लो २४ घण्टामा दैलेखसहित केही जिल्लामा हल्का वर्षा भए पनि अधिकांश स्थानमा वर्षा रोकिएको विभागले जनाएको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार मंगलबार मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहने सम्भावना छ। विभागले सोमबार साँझ सार्वजनिक गरेको मौसम बुलेटिनमा मधेश प्रदेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि तापक्रम बढ्ने उल्लेख गरेको छ।
आज देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली र पहाडी क्षेत्रका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
बुधबार पनि मौसमको अवस्था लगभग यस्तै रहने अनुमान छ। हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ। मौसममा सुधारसँगै आगामी दिनमा तराई क्षेत्रमा गर्मी थप बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।