क्रेडिट स्कोर र फिनटेकलाई बजेटले अघि बढायो : राष्ट्र बैंक

1.6k Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटले ७ प्रतिशत आर्थिक वृद्धिका लागि आवश्यक तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्यअनुसार मौद्रिक नीति ल्याइने बताउनुभएको छ ।

सोमबार राजधानीमा आयोजित पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै उहाँले वर्तमान असाधारण परिस्थितिलाई सम्बोधन गर्न सरकारलाई महत्त्वाकांक्षी बजेट आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार बजेटमा सुशासन, डिजिटाइजेसन र विद्युतीकरणलाई प्राथमिकता दिइएकाले आर्थिक वृद्धिमा सकारात्मक प्रभाव (सिनर्जी) आउन सक्ने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकले विगतदेखि चालेका नीतिहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन बजेटले सहयोग गरेको उहाँको भनाइ छ । विशेषगरी साना कर्जामा क्रेडिट स्कोर प्रणाली लागू गर्ने विषयलाई बजेटले समर्थन गरेको उहाँले बताउनुभयो ।

त्यस्तै फिनटेक मार्केटप्लेसको अवधारणा बजेटमा समेटिएकाले यसले वित्तीय क्षेत्रलाई थप आधुनिक र डिजिटल बनाउन मद्दत गर्ने उहाँले उल्लेख गर्नुभयो ।

उपभोग वृद्धि गर्न हायर पर्चेज प्रणालीमार्फत उपभोग्य वस्तु खरिदमा ऋण सुविधा विस्तार गर्ने योजना पनि बजेटले अघि सारेको उहाँको भनाइ छ । सहुलियतपूर्ण कर्जालाई निम्न तथा मध्यम वर्गको उत्थानका लागि अझ परिष्कृत बनाउने प्रयास भएको उहाँले बताउनुभयो ।

यसैगरी एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गर्ने विषयलाई बजेटले समयसीमासहित अघि बढाउने व्यवस्था गरेकोमा उहाँले स्वागत गर्नुभयो । यसले बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको निष्क्रिय कर्जा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उहाँले सोभरेन वेल्थ फन्डको अवधारणा पनि बजेटमा समावेश गरिएको उल्लेख गर्दै बढ्दो विदेशी मुद्रा सञ्चितिलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने अवसर सिर्जना भएको बताउनुभयो ।

रेमिट्यान्स प्रमुख विदेशी मुद्रा स्रोत भएकाले यसलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै सेवा निर्यातमार्फत विदेशी मुद्रा आर्जन बढाउन सके लगानी सहज हुने धारणा पनि उहाँले राख्नुभयो ।

सम्बन्धित समाचार