काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको हालैको अभिव्यक्ति क्रस बोर्डर अकुपेसन (सीमा पार अतिक्रमण) सँग सम्बन्धित रहेको स्पष्ट पारेको छ ।
मन्त्रालयले आइतबार जारी गरेको प्रष्टीकरणमा प्रधानमन्त्रीको भनाइलाई गलत ढंगले व्याख्या गरिएको भन्दै त्यसले मुलुकको कूटनीतिक स्थिति वा छिमेकी देशहरूसँगको सम्बन्धलाई लक्षित नगरेको जनाएको छ । परराष्ट्रले उक्त अभिव्यक्ति सीमासम्बन्धी सामान्य सैद्धान्तिक प्रसंगमा प्रयोग गरिएको बताएको छ ।
मन्त्रालयका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिको उद्देश्य कुनै पनि देशप्रति आरोप लगाउने नभई अन्तर्राष्ट्रिय सम्बन्ध र सीमा सुरक्षासम्बन्धी समसामयिक विषयमा सामान्य टिप्पणी गर्नु मात्र हो । यसलाई अनावश्यक रूपमा राजनीतिक विवादमा तान्न नहुने मन्त्रालयको भनाइ छ ।
यसअघि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दल तथा विश्लेषकहरूबीच बहस र टीकाटिप्पणी हुँदै आएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा स्पष्टीकरण जारी गर्दै विषयलाई स्पष्ट पार्ने प्रयास गरेको हो ।
मन्त्रालयले सबै पक्षलाई संवेदनशील विषयमा जिम्मेवार ढंगले टिप्पणी गर्न आग्रह पनि गरेको छ ।