काठमाडौँ । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि विपक्षी दलहरूले विरोध जनाएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने क्रममा संसद नियमावलीले तोकेको संख्यामा सांसदहरूले प्रश्न गर्न नपाएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले प्रश्न–उत्तर प्रक्रिया नियमअनुसार नभएको आरोपसमेत लगाएका छन्।
बैठक सञ्चालनका क्रममा सभामुख डीपी अर्यालले हरेक दलबाट एक–एक जना सांसदलाई मात्र समय दिएर प्रश्न उठाउने व्यवस्था गरेका थिए। त्यसपछि प्रधानमन्त्री शाहले रोस्टमबाट जवाफ दिएका थिए।
जवाफ दिने प्रक्रिया पूरा भएपछि सभामुखले प्रधानमन्त्रीलाई बैठक कक्षबाट बाहिरिन अनुमति दिएका थिए। त्यसलगत्तै प्रधानमन्त्री शाह बैठक कक्षबाट बाहिरिएका थिए।
यसपछि विपक्षी दलहरूले संसद नियमावली उल्लंघन भएको भन्दै बैठकमै विरोध जनाउँदै असन्तुष्टि प्रकट गरेका छन्। विपक्षीको विरोधका कारण केही समय संसदमा तनावपूर्ण अवस्था बनेको थियो।
संसदमा प्रधानमन्त्रीको उपस्थितिसँगै देखिएको यो विवादले नियमावलीको व्याख्या र संसदीय अभ्यासबारे थप बहस सुरु भएको छ।