धुलिखेल–खावा सडकको पिच अन्तिम चरणमा, सामग्री अभावले काम सुस्त

1.6k Shares

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको भए पनि निर्माण सामग्रीको अभावका कारण कामको गति सुस्त बनेको छ।

लामो समयदेखि धुलो, हिलो र सवारी जामको समस्या झेलिरहेका स्थानीयवासी तथा यात्रुहरू सडक निर्माण सम्पन्न हुने प्रतीक्षामा छन्। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार करिब चार किलोमिटर लामो सडकखण्डमध्ये पहिलो चरणमा २.५ किलोमिटर भागमा कालोपत्रे सम्पन्न भइसकेको छ।

धुलिखेल चोकबाट सुरु गरिएको कालोपत्रे कार्यअन्तर्गत बाँकी १.५ किलोमिटर सडकमा दोस्रो चरणको पिच गर्ने तयारी भइरहेको छ। निर्माण सामग्री आपूर्तिमा समस्या देखिएपछि पछिल्ला केही सातादेखि काम प्रभावित बनेको छ। यद्यपि सम्बन्धित निकायले आवश्यक सामग्री उपलब्ध भएपछि निर्माण कार्यले पुनः गति लिने जनाएको छ।

यो सडक आयोजना पहिलोपटक २० जेठ २०७९ मा २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता गरिएको थियो। तर निर्धारित समय सकिएको झन्डै ११ महिनासम्म पनि काम पूरा हुन नसकेपछि सडक डिभिजन कार्यालय भक्तपुर ले २५ फागुन २०८१ मा पुरानो ठेक्का रद्द गरेको थियो।

त्यसपछि नेपाल सरकारले ४२ करोड रुपैयाँ स्रोत सुनिश्चित गरी १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत साउनमा नयाँ ठेक्का प्रक्रिया अघि बढाएको थियो।

नयाँ निर्माण कम्पनीले मनसुन सुरु हुनुअघि नै सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखे पनि सामग्री अभावले लक्ष्य प्रभावित भएको छ। सडक निर्माण सम्पन्न भएपछि धुलिखेल–खावा खण्डमा सवारी आवागमन सहज हुने, धुलो तथा जामको समस्या घट्ने र यात्रुले राहत पाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार