नेपालगन्ज । गणतन्त्र दिवसको अवसरमा बाँकेको खजुरा गाउँपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमबाट २९० जना स्थानीय नागरिक लाभान्वित भएका छन्। ग्रामीण क्षेत्रका बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरमा स्वास्थ्य परीक्षण, प्रयोगशाला सेवा र औषधि वितरण निःशुल्क रूपमा गरिएको थियो।
लाइफ लाइन जनरल अस्पताल ले इलाका प्रहरी कार्यालय खजुरा–धनौली सँगको सहकार्यमा सञ्चालन गरेको शिविरमा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगसम्बन्धी परीक्षण तथा परामर्श सेवा दिएका थिए। शिविरमा सहभागीहरूले निःशुल्क औषधिसमेत प्राप्त गरेका थिए।
अस्पतालका सञ्चालक तथा वरिष्ठ दन्त चिकित्सक डा. प्रतिक श्रेष्ठ का अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा २९० जनाको स्वास्थ्य परीक्षण, ८५ भन्दा बढी व्यक्तिको प्रयोगशाला परीक्षण तथा ९० जनाको आँखा परीक्षण गरिएको थियो।
अस्पतालका प्रबन्ध निर्देशक तथा मिर्गौला रोग विशेषज्ञ डा. पारस श्रेष्ठ ले बाहिरी जिल्लाबाट पनि उपचारका लागि बिरामी आउने र रगतको अभाव हुने अवस्थालाई ध्यानमा राखेर रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको बताउनुभयो।
कार्यक्रमअन्तर्गत २२ जनाले रक्तदान गरेका थिए। कार्यक्रम संयोजक सौरभ कर्माचार्य का अनुसार संकलित रगतले आपत्कालीन उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रक्तदान कार्यक्रममा अंगुर जीसी सहित सुरक्षाकर्मी र स्थानीय व्यक्तिहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा खजुरा गाउँपालिकाका जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको समेत उपस्थिति रहेको थियो।
शिविरमा फिजिसियन, मिर्गौला रोग विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, अर्थोपेडिक सर्जन, नाक–कान–घाँटी रोग विशेषज्ञ, मूत्ररोग विशेषज्ञ, फिजियोथेरापिस्ट तथा आँखा रोग विशेषज्ञसहित करिब एक दर्जन चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो। साथै १४ जना नर्सिङकर्मी र तीन जना प्रयोगशालाकर्मी परिचालन गरिएको थियो।