काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति तथा सार्वजनिक मामिला हेर्ने उपविदेशमन्त्री सारा बी. रोजर्स औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेकी छन्।
नेपाल–अमेरिका सम्बन्ध तथा कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनी तीन दिने नेपाल भ्रमणमा आएको जनाइएको छ।
भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले नेपाल सरकारका उच्च अधिकारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू तथा अन्य सम्बन्धित निकायका पदाधिकारीहरूसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
उनको भेटघाटमा द्विपक्षीय सम्बन्ध विस्तार, विकास सहकार्य, शिक्षा तथा सार्वजनिक कूटनीति जस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, उनी काठमाडौंमा आयोजना गरिएको एक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रूपमा समेत सहभागी हुने कार्यक्रम रहेको बताइएको छ। उक्त सम्मेलन पर्वतारोहण, पर्यटन तथा अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित विषयमा केन्द्रित छ।
यस भ्रमणलाई हालैका महिनामा नेपालमा भइरहेका उच्च अमेरिकी कूटनीतिक भ्रमणहरूको निरन्तरताका रूपमा हेरिएको छ, जसले दुई देशबीचको सम्बन्धमा सक्रियता बढ्दै गएको संकेत दिएको विश्लेषण गरिएको छ।