विद्युत उपभोक्तामाथि कर लगाउने नयाँ करप्रति कुलमान घिसिङको आपत्ति
2.1k
Shares
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले विद्युत उपभोक्तामाथि लगाएको अतिरिक्त करप्रति आपत्ति जनाएका छन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत प्रतिक्रिया जनाउँदै उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
घिसिङले आफ्नो भनाइमा यो निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको उल्लेख गरेका छन्।
उनका अनुसार नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा विद्युतको प्रयोग बढ्दै गएको अवस्थामा खाना पकाउने, पानी तताउने लगायतका कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको छ। यस्तो बेला करको अतिरिक्त भार थोपर्नु उपभोक्तालाई दण्डित गर्ने कदम जस्तो देखिएको उनको टिप्पणी छ।
मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश उपभोक्ता सामान्य घरायसी परिवार भएकाले यस निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने र जीवनयापन महँगो बनाउने उनको दाबी छ।
घिसिङले विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै निरुत्साहित गर्ने नीति अपनाइए पुनः एलपी ग्यासतर्फ निर्भरता बढ्ने खतरा रहने बताएका छन्। यसले ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण तथा हरित अर्थतन्त्र निर्माणको लक्ष्यमा समेत नकारात्मक असर पार्ने उनको भनाइ छ।
उनले सरकारले विद्युत महसुललाई न्यायोचित र उपभोक्तामैत्री बनाउँदै स्वदेशी विद्युत उपयोगलाई प्रोत्साहन गर्ने नीति अपनाउनुपर्ने सुझाव दिँदै उक्त ५ प्रतिशत कर तत्काल फिर्ता लिन माग गरेका छन्।