विश्वकप–२०२६ : समूह ‘एच’ मा स्पेन–उरुग्वे भिडन्त, साउदी र केपभेर्डे पनि समावेश

1.9k Shares

विश्वकप फुटबल–२०२६ को समूह ‘एच’ मा युरोपेली च्याम्पियन स्पेन, दुई पटकको विश्वविजेता उरुग्वे, साउदी अरब र नवप्रवेशी केप भेर्डे परेका छन् । समूहको सबैभन्दा चर्चित खेल स्पेन र उरुग्वेबिच हुने भएको छ ।

स्पेन यस पटक पनि उपाधिको दाबेदारका रूपमा मैदानमा उत्रिँदै छ । युरो–२०२४ विजेता स्पेनको टोलीमा युवा स्टार लामिने यमाल, पेड्री र रोड्रीजस्ता खेलाडी रहनेछन् । सन् २०१० मा विश्वकप जितेपछि भने स्पेनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन ।

दुई पटकको विश्वविजेता उरुग्वे दक्षिण अमेरिकी छनोटमा बलियो प्रदर्शन गर्दै विश्वकप पुगेको हो । टोलीमा फेडरिको भेलभर्डे, रोनाल्ड अराउजो र म्यानुअल उगार्टेजस्ता स्टार खेलाडी छन् । पछिल्ला केही खेलमा कमजोर नतिजाका कारण प्रशिक्षक मार्सेलो बिएस्लामाथि दबाब बढेको छ ।

साउदी अरब लगातार तेस्रो पटक विश्वकप खेल्दै छ । कतार विश्वकपमा अर्जेन्टिनालाई हराएर चर्चामा आएको साउदी टोलीले पछिल्ला वर्षहरूमा फुटबलमा ठूलो लगानी गरेको छ ।

पहिलो पटक विश्वकपमा स्थान बनाएको केप भेर्डे समूहको सबैभन्दा सानो राष्ट्र हो । अफ्रिकी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप पुगेको केप भेर्डेले पहिलो सहभागितामै प्रभाव जमाउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार