राजनीतिक व्यवस्था परिवर्तन मात्र पर्याप्त हुँदैन, राज्य आचरणमा सुधार आवश्यक : राष्ट्रपति पौडेल

1k Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

गणतन्त्रको मर्यादा जोगाउन राजनीतिक निष्ठा र आचरणमा सुधारसहित एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ ।”

उहाँले सामाजिक न्याय, विकास र समृद्धि संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थक अभ्यास भएको उल्लेख गर्दै राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र राख्नुपर्ने बताउनुभयो ।

मुलुकमा उत्पन्न विषम परिस्थितिपछि प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेशसहितको सरकार बनेको उल्लेख गर्दै उहाँले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आधार मानेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपतिले शासकीय सुधारका एक सय कार्यसूची कार्यान्वयन गर्दै संरचनागत र कानुनी सुधारमार्फत आर्थिक तथा व्यापारिक क्षेत्रलाई सहज बनाउने सरकारी निर्णयले जनतामा आशा जगाउने विश्वास व्यक्त गर्नुभयो ।

ढिलासुस्ती, अनियमितता र बेथिति प्रमुख समस्या भएको उल्लेख गर्दै उहाँले यी समस्याले लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकमा निराशा ल्याउन नदिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म हामीले रगत र पसिनासँग साटेको संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन ।”

 
 
सम्बन्धित समाचार