काठमाडौँ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज वार्षिक बजेट सार्वजनिक गर्दै छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बजेट राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा पेश गरिनेछ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई तिहाइ जनमतसहित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले पहिलोपटक पूर्ण बजेट ल्याउन लागेको हो। त्यसैले सरकारले कस्तो नीति तथा कार्यक्रम अघि सार्छ भन्ने विषयमा राजनीतिक र आर्थिक वृत्तमा विशेष चासो देखिएको छ।
सरकारले सांसदहरूबाट प्राप्त सुझाव, रास्वपाको चुनावी वाचापत्र, सुशासनको मार्गचित्र तथा आर्थिक सुधारका एजेन्डालाई बजेटको केन्द्रमा राखेको जनाएको छ। यसपटकको बजेटलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने सरकारको तयारी रहेको छ।
अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको पालनासहित सुशासनलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताइएको छ। आगामी पाँच वर्षसम्म लागू हुने सुधार कार्यक्रमको आधार तयार गर्ने गरी बजेटलाई रूपान्तरणको प्रारम्भिक बिन्दु बनाउने अर्थमन्त्रीको तयारी रहेको जनाइएको छ।
नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। बजेट प्रस्तुतिका क्रममा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, गभर्नर तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।