इन्डोनेसियामाथि नेपालको शानदार जित, अन्तिम चारमा प्रवेश

2.4k Shares

काठमाडौं । मलेसियामा जारी एसियन गेम्स छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।

दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई चार विकेटले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको हो । इन्डोनेसियाले दिएको १ सय १४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान इन्दु बर्माले अविजित ४२ रनको महत्वपूर्ण योगदान दिनुभयो । ४३ बल खेलेकी उहाँले पाँच चौका प्रहार गर्नुभयो । सोनी पार्खीले २९ रन जोड्दा कविता कुँवरले १४ रन बनाउनुभयो । अन्तिम समयमा सीता रानामगरले ६ बलमा अविजित १३ रन थप्दै टोलीलाई जित दिलाउनुभयो ।

इन्डोनेसियाका सुवानदेवी र काइदे अरियानीले दुई–दुई विकेट लिए पनि नेपाललाई रोक्न सकेनन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५२ रन बनाउनुभयो भने निलु केतुत वेसिका रतना देवीले २३ रन बनाउनुभयो । नेपालका लागि मनिषा उपाध्यायले दुई तथा रिया शर्माले एक विकेट लिनुभयो ।

नेपालले पहिलो खेलमा चीनलाई १९ रनले हराएको थियो । समूह ‘बी’ मा रहेको नेपाल लगातार दुई जितसहित सेमिफाइनलमा पुगेको हो ।

 
 
सम्बन्धित समाचार